Home बिबिध लोपोन्मुख गुरुङ मौलिक संस्कृतिको संरक्षणमा सक्रिय निर्देशक/गायक मनाङ गुरुङ

लोपोन्मुख गुरुङ मौलिक संस्कृतिको संरक्षणमा सक्रिय निर्देशक/गायक मनाङ गुरुङ

207
0

लोपोन्मुख गुरुङ मौलिक संस्कृतिको संरक्षणमा सक्रिय निर्देशक मनाङ गुरुङ

दुई दशकभन्दा बढी समयदेखि गुरुङ समुदायका मौलिक कौडा र चुड्का गीत–संगीतको दृश्य (म्युजिक भिडियो) निर्माणमा सक्रिय निर्देशक मनाङ गुरुङ पछिल्लो समय गुरुङ बस्तीहरूमा परम्परागत कौडा/चुड्का संस्कृति संरक्षण तथा प्रशिक्षण अभियानमा व्यस्त छन्।

स्थानीय गाउँ समाज तथा विभिन्न सरकारी निकायहरूको पहलमा गुरुङ समुदायले आफ्नो मौलिक संस्कृति संरक्षण, संवर्द्धन र पुस्तान्तरणलाई प्राथमिकतामा राख्दै लोपोन्मुख सांस्कृतिक सम्पदालाई जोगाउने अभियान सञ्चालन गरिरहेको छ। यसै क्रममा राइनास नगरपालिका–९, कुँडुले, लमजुङ स्थित श्री मोहोरियाकोट सामुदायिक सिकाइ केन्द्रको आयोजनामा ७ दिने खैजडी बजाउने तथा नृत्य प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा लम्जुङ जिल्ला समन्वय समिती प्रमुख श्री पूर्ण बहादुर गुरुङ र श्री मोहोरियाकोट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्री होम बहादुर गुरुङ रहनु भएको थियो। त्यस्तैगरि विशेष अतिथीको रुपमा राईनास नगरपालिका-९ का वडा अध्यक्ष श्री लुबिन्द्र गुरुङ ज्युको उपस्थिति रहेको थियो।

तालिममा निर्देशक मनाङ गुरुङले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै दर्जनभन्दा बढी स्थानीय युवा तथा महिला सहभागीहरूलाई खैजडी बजाउने र परम्परागत नृत्य प्रस्तुत गर्ने सीप प्रदान गरेका थिए। सहायक प्रशिक्षकको रुपमा भने  धिरन आले मगर रहनु भएको थियो। तालिम सम्पन्न भएपछि आयोजक संस्थाले दुवै प्रशिक्षकहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान–पत्र प्रदान गरेका थिए।

यस्ता प्रशिक्षण कार्यक्रमहरूले दिनप्रतिदिन लोप हुँदै गइरहेका मौलिक सांस्कृतिक परम्पराको संरक्षण मात्र होइन, नयाँ पुस्तामा यसको हस्तान्तरण गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। स्थानीय स्तरमा सञ्चालन हुने यस्ता अभियानलाई अन्य गाउँ तथा समुदायमा समेत विस्तार गर्न सके नेपालका अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुग्ने देखिन्छ।