काठमाडौं | चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने ‘फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम’ सफलतापूर्वक सम्पन्न भएको छ। ३५ जना प्रशिक्षार्थी सहभागी रहेको तालिमको समापन समारोहमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै प्रशिक्षक तथा चलचित्र क्षेत्रका अग्रज व्यक्तित्वलाई सम्मान गरिएको थियो।

समापन समारोहकी प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले तालिमका प्रमुख प्रशिक्षकहरू राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला र राजन महर्जन लाई प्रशंसापत्र प्रदान गर्नुभयो।
यस अवसरमा नेपाली चलचित्र क्षेत्रका पहिलो स्टिल फोटोग्राफर मञ्जु कुमार श्रेष्ठ तथा वरिष्ठ फिल्म पोस्टर डिजाइनर सुन्दर श्रेष्ठ लाई चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप जनही रु. ३५ हजार राशिको सम्मान पुरस्कार प्रदान गरिएको थियो।
एक महिनासम्म सञ्चालन भएको तालिममा सहभागीहरूले फोटोग्राफी, फोटो तथा भिडियो पत्रकारिता, क्यामेरा सञ्चालन, फोटो सम्पादन, भिजुअल स्टोरीटेलिङ, समाचार प्रस्तुति लगायत चलचित्र तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न व्यावहारिक विषयमा प्रशिक्षण प्राप्त गरेका थिए। आयोजकका अनुसार यस्ता सीपमूलक तालिमले नयाँ पुस्ताका फोटोपत्रकार तथा दृश्य सञ्चारकर्मी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
समापन कार्यक्रममा सिनेम्याटोग्राफर एशोसिएसनका अध्यक्ष गौरीशंकर धुंजु, आभानका अध्यक्ष विक्रम मानन्धर, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, उडानका अध्यक्ष राजभाइ सुवाल, आदिवासी जनजाति महासंघकी अध्यक्ष भुईंसल लामा, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कलाकार सुभाष गजुरेल, कपिल रिजाल, रिमेश अधिकारी, मिलन मोक्तान, प्रेम श्रेष्ठ, गोपाल ढकाल (छन्दे), गीता नेपाल, सुमन गिरी, सुभाष काफ्ले सहित चलचित्रकर्मी, पत्रकार, फोटोपत्रकार, प्रशिक्षक, काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डका पदाधिकारी तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
फोटोग्राफी र फोटो–भिडियो पत्रकारितालाई व्यावसायिक तथा गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालन गरिएको यो तालिमले सहभागीहरूलाई व्यवहारिक ज्ञान र अनुभव प्रदान गरेको आयोजकले जनाएको छ। यस्तो कार्यक्रमले नेपाली चलचित्र उद्योग र सञ्चार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ


















