काठमाडौं। नेपाली लोकसंगीतमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय गायिका दुर्गा गुरुङ आफ्नो नयाँ ‘दुर्गा गुरुङ सांगीतिक साँझ’ मार्फत पुनः दर्शकमाझ प्रस्तुत हुने भएकी छन्। रोडी डिजिटलको आयोजनामा हुने उक्त कार्यक्रमबाट संकलित सहयोग तनहुँको भानु नगरपालिका–७ मा स्थानीय समुदायद्वारा सञ्चालित चण्डिका बालाश्रमलाई प्रदान गरिने आयोजकले जनाएको छ।
स्याङ्जाको वालिङ नगरपालिका–३ (साविक माझकोट–५) मा जन्मिएकी गुरुङ नेपाली मौलिक लोकभाकाका स्थापित स्वरका रूपमा परिचित छिन्। उनले सोरठी, घाँटु, झ्याउरे, कौडा, सालैजो, देउडा र तामाङ सेलो जस्ता परम्परागत लोक विधामा आफ्नो पहिचान बनाएकी छन्।
* दुर्गा गुरुङको सांगीतिक इतिहास
उनको रेकर्डिङ यात्रा वि.सं. २०५१ सालमा ‘पर्ख सँगै जाम’ गीतबाट सुरु भएको थियो। त्यसयता उनले सयौं सांगीतिक कार्यक्रममा सहभागिता जनाउँदै नेपाली लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएकी छन्। करिब तीन वर्षअघि पनि उनले सफल एकल साँझ आयोजना गरेकी थिइन्। यसपटकको एकल साँझको अवधारणा रोधी डिजिटलका सञ्चालक प्रितम गुरुङले अघि सारेका हुन्। तयारी प्रारम्भिक चरणमै रहे पनि कार्यक्रमलाई मौलिक लोकसंगीतप्रेमीका लागि विशेष आकर्षणका रूपमा हेरिएको छ।
* एकल सांगीतिक साँझमा प्रस्तुत हुने गीतहरु
गुरुङका अनुसार कार्यक्रममा करिब १२ वटा गीत प्रस्तुत गरिनेछन्, जसमा तीनवटा नृत्यप्रधान प्रस्तुति पनि समावेश रहनेछन्। कार्यक्रमको सुरुवात उनले आफ्नो जन्मथलोप्रति समर्पित गीत “स्याङ्जा डाँडाँ घुम्तीमा पहिरो छ, माया गहिरो छ” बाट गर्ने तयारी गरेकी छन्। यही गीत उनले वि.सं. २०५३ सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गर्ने क्रममा समेत प्रस्तुत गरेकी थिइन्।
*रडियो नेपाल बाट स्वर परिक्षा पास गरेकी गायिका दुर्गा गुरुङ
दुर्गा गुरुङले सांगीतिक यात्रा सुरु गरेको समय नेपाली संगीत क्षेत्रमा प्रवेश गर्न अहिलेको जस्तो सहज अवस्था थिएन। त्यतिबेला कुनै पनि गायक–गायिकाका लागि रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गर्नु प्रतिष्ठा र क्षमताको प्रमाण मानिन्थ्यो। त्यो परीक्षा निकै कठिन हुने गर्थ्यो। स्वरको शुद्धता, लय, ताल, उच्चारण, भाव अभिव्यक्ति तथा गीतको प्रस्तुति सबै पक्षलाई विज्ञहरूको समितिले मूल्याङ्कन गर्थ्यो।
धेरै कलाकारले पटक–पटक प्रयास गरेपछि मात्र सफलता पाउने अवस्था थियो। स्वर परीक्षा पास गरेपछि मात्रै रेडियो नेपालमा गीत रेकर्ड गर्ने र राष्ट्रिय स्तरमा आफ्नो परिचय स्थापित गर्ने अवसर प्राप्त हुन्थ्यो। त्यसैले त्यो समय स्वर परीक्षा उत्तीर्ण गर्नु एउटा ठूलो उपलब्धिका रूपमा लिइन्थ्यो।
*पुराना लोकसंगीत लोप हुने अवस्थामा
दुर्गा गुरुङले आफ्नो सांगीतिक जीवनभर मौलिक लोकभाकालाई प्राथमिकता दिइरहेकी छन्। तर पछिल्ला वर्षहरूमा नेपाली संगीत बजारमा फ्युजन लोक, आधुनिक लोक (मोडर्न लोक), डिजिटल रिमिक्स, कृतिम बुद्धिमता (ए आई) बाट निर्मित गीतहरु तथा व्यावसायिक शैलीका गीतहरूको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ।
यस्ता गीतहरूले नयाँ पुस्तालाई आकर्षित गरिरहेको भए पनि सोरठी, घाँटु, कौडा, सालैजो, झ्याउरे र देउडा जस्ता मौलिक विधाहरू क्रमशः ओझेलमा पर्दै गएको चिन्ता संगीतकर्मीहरूले व्यक्त गर्दै आएका छन्। छोटो समयमै लोकप्रियता हासिल गर्ने उद्देश्यले बनाइने आधुनिक लोकगीतहरूको भीडमा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका परम्परागत लोकभाका कम सुनिन थालेका छन्।
*दुर्गा गुरुङ एकल सांगितीक साँझको महत्व
यही परिवेशमा दुर्गा गुरुङको एकल सांगीतिक साँझ केवल सांगीतिक प्रस्तुति मात्र नभई मौलिक नेपाली लोकसंस्कृतिको संरक्षण र नयाँ पुस्तासम्म यसको महत्व पुर्याउने प्रयासका रूपमा पनि हेरिएको छ। यस कार्यक्रमले एकातर्फ सामाजिक सेवाका लागि योगदान पुर्याउने लक्ष्य राखेको छ भने अर्कोतर्फ नेपाली लोकसंगीतको मौलिक पहिचानलाई पुनः उजागर गर्ने अपेक्षा गरिएको छ।
* नेपाल संगै दर्जनौ अन्तरास्ट्रिय मन्चमा आफ्नो सांगीतिक प्रस्तुति
नेपाली लोकसंगीतको प्रवर्द्धनमा सक्रिय दुर्गा गुरुङले स्वदेशसँगै अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि आफ्नो कला प्रस्तुत गर्दै नेपाली मौलिक लोकभाकालाई विश्वभर चिनाएकी छन्। उनले नेपालका विभिन्न जिल्ला तथा सहरहरूमा सयौं सांगीतिक कार्यक्रममा प्रस्तुति दिएकी छन् भने बेलायत (यूके), अमेरिका, जापान, दक्षिण कोरिया, मलेसिया तथा खाडी मुलुकहरू लगायत दर्जनौं अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रममार्फत नेपाली लोकसंस्कृति र मौलिक लोकभाकालाई प्रवासी नेपालीमाझ पुर्याएकी छन्। विशेषगरी सोरठी, घाँटु, झ्याउरे, कौडा, सालैजो, देउडा र तामाङ सेलोजस्ता परम्परागत लोकभाकालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै उनले नेपाली मौलिक संगीतको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएकी छन्।















![durga-3]](https://www.kalabazarnepal.com/wp-content/uploads/2026/08/durga-3-640x360.jpg)


