Home चलचित्र GIFAH Hongkong को तेस्रो अधिवेशन हुँदै।

GIFAH Hongkong को तेस्रो अधिवेशन हुँदै।

67
0

गुरुङ भाषा, संस्कृति, भेषभूषा तथा चलचित्र क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सक्रिय गुरुङ फिल्म एसोसिएसन हङकङले आफ्नो तेस्रो अधिवेशन आगामी २६ जुलाई २०२६ मा आयोजना गर्ने भएको छ। GIFAH ले सार्वजनिक गरेको सूचनाअनुसार अधिवेशन बिहान ११:०० बजे हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्ट एन्ड बार मा सम्पन्न हुनेछ।

सन् २०१६ मा स्थापना भएको यस संस्थाले हङकङमा रहेका गुरुङ चलचित्रकर्मी, कलाकार तथा प्राविधिकहरूलाई एकीकृत गर्दै गुरुङ भाषा, संस्कृति, परम्परा, भेषभूषा तथा चलचित्र क्षेत्रको संरक्षण र विकासमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। यसै अभियानलाई थप प्रभावकारी र सशक्त बनाउने उद्देश्यका साथ तेस्रो अधिवेशन आयोजना गर्न लागिएको संस्थाले जनाएको छ।

एसोसिएसनका अनुसार अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ। संस्थाले यस अधिवेशनलाई सफल बनाउन हङकङमा रहेका सम्पूर्ण गुरुङ चलचित्रकर्मी, कलाकार, प्राविधिक तथा संस्कृति संरक्षणमा रुचि राख्ने सबैलाई उपस्थित हुन आग्रह गरेको छ।

यससँगै संस्थाले सदस्यता अभियानलाई पनि तीव्र बनाएको छ। हालसम्म सदस्यता नलिएका गुरुङ चलचित्रकर्मी, कलाकार तथा प्राविधिकहरूलाई साधारण सदस्य वा आजीवन सदस्य बन्न आह्वान गरिएको छ। संस्थाका अनुसार सदस्य बनेपछि गुरुङ चलचित्र, भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्‍याउने अवसर प्राप्त हुने, हङकङमा रहेका कला, चलचित्र तथा रंगमञ्च क्षेत्रका व्यक्तिहरूसँग सहकार्य र सञ्जाल विस्तार गर्न सकिने तथा संस्थाको आगामी कार्यसमिति चयन प्रक्रियामा सहभागी भई मतदान गर्न र उम्मेदवार बन्न समेत पाइनेछ।

सदस्यता लिन इच्छुक व्यक्तिले आवेदनका लागि एक प्रति पासपोर्ट साइजको फोटो सहित साधारण सदस्यको लागि २०० र आजीवन सदस्यको लागि १,००० हङकङ डलर निर्धारण गरिएको छ। संस्थाले सार्वजनिक गरेको सूचना अनुसार सदस्यता लिनका लागि २४ जुलाई २०२६ सम्मको समयसीमा तोकिएको छ। त्यसअघि नै सदस्यता लिएर अधिवेशनमा सहभागी हुन संस्थाले सबैलाई अनुरोध गरेको छ।

तेस्रो अधिवेशनलाई संस्थाको नेतृत्व हस्तान्तरणको औपचारिक कार्यक्रम मात्र नभई हङकङमा रहेका गुरुङ चलचित्रकर्मीहरूको एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अवसरका रूपमा पनि हेरिएको छ। त्यसैले सम्बन्धित सबैलाई समयमै सदस्यता ग्रहण गरी अधिवेशनमा सक्रिय सहभागिता जनाउन संस्थाले हार्दिक अनुरोध गरेको छ।