२०२५ जुलाई ६ तारिखमा जापानको योकोहामामा नेपाली चलचित्र ‘पुर्खाको थलो’ को विशेष प्रदर्शन हुँदैछ। गुरुङ संस्कृतिमा आधारित नेपाली भाषामा बनेको यस चलचित्रलाई ओम प्रकाश गुरुङले, लेखन, निर्देशन र सम्पादन पनि गरेका हुन्।
चलचित्रबारे
‘पुर्खाको थलो’ को छायांकन कास्की जिल्लाको मादी गाउँपालिका अन्तर्गतको भाचोक गाउँमा गरिएको हो। यसले प्राकृतिक सौन्दर्य, सांस्कृतिक रीतिरिवाज र ग्रामीण जीवनशैलीलाई पर्दामा उतारेको छ।
यस चलचित्रमा मुख्य कलाकारका रूपमा गणेशमान घले, लक्ष्मी गुरुङ, ओमप्रकाश गुरुङ, डीबी गुरुङ र लालशोभा गुरुङ रहेका छन्। चलचित्रका छायांकार पिटर गुरुङ हुन्। कुबिना गुरुङले निर्माण गरेको यो चलचित्रमा दिल घले, उत्तर बहादुर गुरुङ, खिम कुमारी गुरुङ र जोग माया गुरुङ सह-निर्माताका रूपमा रहेका छन्।
गुरुङ पहिचान, संस्कृति र प्रेम कथामा आधारित यो चलचित्र सबै पुस्ताका दर्शकका लागि सन्देशमूलक र भावनात्मक रूपमा सशक्त रहेको बताइएको छ।
विगतका प्रदर्शनहरू
यसअघि यो चलचित्र पोखरामा प्रदर्शन गरिएको थियो, जहाँ २ हजारभन्दा बढी दर्शकले फिल्म प्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। त्यसपछि हङकङमा पनि प्रदर्शन भई त्यहाँको नेपाली समुदायबाट अत्यधिक मन पराइएको थियो।


















