के तपाइले भोट हाल्नु भयो ? जसको मासु भात उसैलाइ स्वस्तिक छाप गर्नुभयो कि भेलु बाजेले झैँ एमालेबाट नोट लिएर माओबादीलाइ भोट दिनुभयो ? आशा छ यो पटक पक्कै राम्रा मान्छे चुनेर पहिलेको पाप पखाल्नु भयो, आफ्नो अनि देशको भविष्यलाइ उज्यालो तिर धकेल्नु भयो। (नत्र फेरी भोलि देखि नै सुरु हुन्छ तपाईंको साँढे सात अनि पुर्पुरोमा हात)
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन २०७९ अन्तर्गत मंसिर ४ गते देशै भरका मतदाताहरु उत्साहजनक रुपमा मतदानमा सहभागी भएका छन्। यद्यपि देशका केहि भागहरुमा छिटपुट रुपमा मतदान स्थगित हुनका साथै सुरक्षाकर्मीले हवाई फाएर पनि गर्नु परेको कुरालाइ भने तपाइँहरु संग लुकाउन मिल्दैन। (हाम्रो काम त जे हो त्यहि भन्ने हो नि त। कि कसो ? )
आफुलाई मन परेको नेता छानेर देशको भबिष्य निर्माणको जिम्मा लगाउने यो महाउत्सबमा नेपाली कलाक्षेत्र सँग सम्बद्ध व्यक्तिहरुको पनि उत्साहजनक सहभागिता देखिएको छ। करिश्मा मानन्धर (सुर्जे कुमारी) रेखा थापा (हिम्मतवाली) मात्र नभई चलचित्र निर्देशक मनॊज पण्डित समेत भ्रष्टचारि र कामचोरहरुलाई दण्डित गर्नुपर्छ भन्दै उमेद्वारका रुपमा होमिएको यो चुनाबलाइ नयाँ र पुरानो पुस्ता बीचको लडाईको रुपमा पनि हेरिएको छ। (जे होस् नेपालमा चुनाब चाँही ग्ल्यामरस हुँदै गइरहेको छ)

कुन सेलिब्रिटीले कसलाई भोट खसाए त आउनुहोस् चर्चा गरौ है त,
बिशेष गरि नयाँ, युवा अनि स्वतन्त्र उमेद्वारको समर्थन गर्दै आएका चलचित्र निर्देशक निश्चल बस्नेतले मतदान पछि आफ्नो फेसबुक पेजमा एक status राख्दै भनेका छन् “औंलामा लाइन कोरेको मात्र हैन आफ्नो भविष्य पनि रोजेको हो । आशा गरौं जित्नेहरुले देशकाे भलो गरुन्, आशा गरौं देशकाे भलो गर्नेहरुले जितुन” उनको बिगत देखिकै समर्थन र सक्रियता हेर्दा उनले मुलधारका राजनीतिक पार्टीको नभई अरु नै कुनै नयाँ वा स्वतन्त्र उमेद्वारलाइ भोट दिएको सजिलै अनुमान लगाउन सकिन्छ। (चलचित्र लुटका निर्देशकले पक्कै पनि देशलाइ लुटिन बाट जोगाए भन्ने कलाबजार नेपालको बिश्वास छ।)
मनोरंजन दिन मात्र नभई समाजमा देखिएका बेथिति र विसङ्गति बिरुद्ध निरन्तर खबरदारी गर्न सक्रिय कलाकार तथा निर्माता रबिन्द्र सिंह बानियाँले पनि आफ्नो मताधिकारको प्रयोग गरेका छन्। उनले आफ्नो बुढी औंलाको मसिलाई मतदान गरेको प्रमाणका रुपमा पेश गर्दै फेसबुक पेजमा लेखेका छन् “ अहिलेलाई बुढी औंला, काम गरेनन् भने माझी औंला। नयाँ हुन की पुरानो युवा हुन की बुढा, खबरदारी पहरेदारी सधैं रहनेछ !” केहि समय अघि देखि नै ” राजनीतिक साेच बदलाै, आफ्नो भाेट बदलाै” परिबर्तन हाम्रै हातमा छ भन्दै सार्बजनिक अपिल गर्दै आएका रबिन्द्र पछिल्लो समय भने चलचित्र महापुरुष मार्फत तपाइँ हाम्रो ब्यबहारिक सोच बदल्नमा ब्यस्त छन्। (फिलिम बनाई बनाई नेपालको दोश्रो बिनोद चौधरी हुने भए गाँठे यी दाजु ! पुलिङ्गि शब्द सार्है फाप्दो रै छ यिनलाई -पशुपति, महापुरुष)
आफुले पहिलेको जस्तो गल्ति यो पटक नदोहोर्याउने बताउदै कलाकार दिपकराज गिरिले पनि काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रबाट मतदान गरेका छन् । सदनमा युवा पुस्ता हुनुपर्छ भन्ने मेरो मान्यता हो, नयाँ जोशका साथ आएका युवा उमेद्वारहरुलाई शुभकामना छ उनले भने । उनले केहिदिन अघि मात्रै पनि “नयाँ नेताहरुले जीतेर गए भने घुस कसरि खाने भनेर सिक्न २ बर्ष लाग्छ ! कमसेकम देशमा २ साल भ्रष्टाचारको दर त कम हुने भो !!” भन्दै व्यंग्यात्मक अभिव्यक्ति सहित यसपाली आफुले पनि कुनै नयाँ उमेद्वारलाइ नै भोट दिने आसय ब्यक्त गरेका थिए। (तर मतदान गोप्य हुने भएकाले भाइ भतिजाको सट्टा काका/बा लाई नै पनि मत दिएनन् होला चाहिँ भन्न सकिन्न है राजाले)

कलाकार तथा निर्देशक दिपा श्री निरौलाले पनि आफ्नो गृहजिल्ला बिराटनगर बाट मतदान गरेकी छिन। रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनको आम सभामा समेत उपस्थिति जनाएकी उनले कसलाई भोट हालिन् भनेर अनुमान लगाई रहन त्यति गार्हो नहोला। यसै बीच उनि पनि उक्त पार्टी मार्फत छिट्टै सक्रिय राजनीतिमा आउने गाँइ गुँइ पनि नेपाली कला क्षेत्रमा आजकल सुनिन थालेको छ। (यो हल्ला मात्रै हो कि रबिजी संग सल्लाह पनि भईसकेको हो समयले नै बताउला)
र्यापर तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पनि आफु जस्तै सक्षम नेता छान्न सिनामंगल ९ स्थित अन्नपुर्ण माबिमा रहेको मतदान केन्द्र पुगेका छन्। पुराना राजनीतिक दलको बिद्रोही बनेर जीत निकालेका उनको समर्थन पक्कै पनि नयाँ राजनीतिक दल वा स्वतन्त्र व्यक्तिलाई नै रहेको सजिलै अनुमान लगाउन सकिन्छ। (बालेन्द्र बाहुबली, नेता असली)

अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रबाट मतदान मतदान गरेका छन्। राजनीति आफ्नो चासोको बिषय भएको र भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने उनले बताए। अहिलेको चुनावले परिवर्तनको संकेत गरेको भन्दै उनले नेपाली कला, संस्कृति र फिल्मको प्रवद्र्धनका लागि कलाकार उम्मेदवार विजयी हुनुपर्ने धारणा राखे । उनले चुनावमा उम्मेदवार बनेका कलाकारलाई जितको शुभकामना समेत दिए। (राजनीतिमा चासो भएरै त हाम्रो दोश्रो महानायक चलचित्र विकास बोर्डको अध्यक्ष भए होला नि, होइन त? )
अभिनेता राजेश हमालले काठमाडौंको लैनचौर स्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदान पछि पत्रकार सँग कुरा गर्दै उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । यो चुनावले देशमा ठुलो परिवर्तन ल्याउनेमा हमाल आशावादी देखिएका छन्, अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए । (के हमाल राजनितीमा आए भने ठुलै कमाल गर्लान त?)
अभिनेत्री करिश्मा मानन्धरले पनि पति विनोद मानन्धर सँगै गएर महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका-३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी छन् । उनले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताउदै रेखा थापा लगायत अरु उम्मेदवारहरुले यसपालि जित्नुपर्ने धारणा ब्यक्त गरिन । नेकपा एमालेमा आबद्ध रहेकी करिश्मा (सुर्जे कुमारी) ले पक्कै पनि सुर्यमै त स्वस्तिक छाप लगाइन होला नि। (बिन्ति छ प्रभु, सुर्जे कुमारीले कुनै दिन नाम फेरेर औंशि माया राखेको चाँही यो हातले समाचार लेख्न नपरोस)

निर्माता तथा कलाकार निर्मल शर्माले पनि काठमाडौं क्षेत्र नम्बर ४ को सिफल मतदान केन्द्रबाट मतदान गरेका छन्। शर्माले अबको पाँच वर्ष पछिको चुनाबमा आफुपनि उमेद्ववार उठ्ने गरी आवश्यक तयारीमा लागि सकेको बताउँदै सामाजिक र राजनीतिक मुद्दामा कलाकारले झनै चासो दिनुपर्ने कुरामा जोड दिए। (राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन आम सभामा दिपाश्री निरौला संगै उपस्थिति जनाएका उनि पनि अर्को पटकको निर्वाचन ताका घन्टी बजाउदै तपाईको दैलोमा नमस्ते भन्न आइपुगे भने अचम्मित नहुनु होला)

















