भाद्र २९ गते प्रदर्शन मिति घोषणा गरि प्रचार प्रसारमा दौडिएको चलचित्र “एक भगवत गीता” कि निर्देशक झरना थापा हिजो आज राति निदाउन सकिरहेकी छैनन् । दिन प्रतिदिन प्रदर्शन मिति नजिकिंदै गर्दा उनलाई चलचित्रको प्रदर्शन हुन्छ कि हुँदैन भन्ने चिन्ताले सताएको छ। किनभने चलचित्रको नाम लाई लिएर केहि हिन्दु सनातन धर्मावलम्बी संघ संस्थाहरुले आपत्ति जनाए पछि फिल्मको सेन्सर प्रक्रिया नै रोकिएको छ ।
निर्देशक थापाले भने फिल्मको कथामा हिन्दु धर्मको पबित्र ग्रन्थ भगवत गीताको सन्देशलाई कुनै पनि तरिका बाट तोडमोड नगरिएको र कथा सँग सम्बन्ध नै नरहेको बताएकी छिन् । जब गीताको शिक्षालाई कथामा समावेश नै गरिएको छैन भने किन फिल्मको शिर्षक “एक भगवत गीता” राख्ने भन्ने प्रश्न बिरोधि समूह बाट आएको हो। पबित्र धर्मग्रन्थको नामलाई क्षणिक व्यवसायिक फाइदाको लागि प्रयोग गरिएको र यदि चलचित्र प्रदर्शन भए जे पनि हुन सक्ने धम्कि पूर्ण बिज्ञप्ति पनि उनीहरुले जारि गरेका छन्।
अब यो मुद्दाको छिनोफानो कसरी र कहिले होला, चलचित्र दर्ता गरि निर्माण अनुमति दिएको विकास बोर्डले किन निर्णायक भूमिका निर्वाह गर्न सकिरहेको छैन भन्ने प्रश्नहरु अझै अनुत्तरित नै छन्। विकास बोर्डको यो निरिह नेतृत्व देखेर केहि चलचित्रकर्मीहरु सामाजिक संजाल मार्फत Boycott विकाश बोर्डको नारा लाउन सुरु गरेका छन् ।


















