लमजुङ । गुरुङ समुदायको सामाजिक यथार्थ र एक सैनिक परिवारको संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को प्रचारप्रसार कार्यक्रम लमजुङको बेंसीसहरमा सम्पन्न भएको छ।
करिब डेढ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको यस चलचित्रले ब्रिटिस तथा भारतीय सेनामा कार्यरत वा अवकाशप्राप्त (लाहुरे) व्यक्तिको परिवारले भोग्ने संवेदनशील विषय उठाएको छ। विशेषगरी, लाहुरे अवकाश प्राप्त गर्नुअघि वा कुनै कारणवश मृत्यु भएमा उनकी श्रीमतीले पेन्सन प्राप्त गर्न कति सहज वा कठिन हुन्छ, त्यस प्रक्रियामा देखिने सामाजिक, प्रशासनिक र पारिवारिक द्वन्द्वलाई चलचित्रले मुख्य कथावस्तु बनाएको निर्देशकको भनाइ छ।
अन्तरक्रियात्मक कार्यक्रममा, निर्देशक माओत्से गुरुङ सहभागी पत्रकारक जबाफ दिंदै भन्नु हुन्छ, “प्रेम भनेको बिस्वब्यापी कुरा हो, संस्कार, समुदाय, भेषभुषा र चरित्रको भोगाई गुरुङ परिबेशमा भए पनि, कथाको मुख्य केन्द्रबिन्दु प्रेम हो त्यसैले, चलचित्रको कथाले सबै दर्शकलाई समानरुपमा प्रभाव पर्छ।”

प्रचारप्रसार कार्यक्रममा चलचित्रका निर्देशक माओत्से गुरुङ, कलाकार डीबी गुरुङ र मनिका गुरुङ उपस्थित थिए। उनीहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको विषयवस्तु, निर्माण अनुभव तथा यसको सामाजिक सन्देशबारे जानकारी गराएका थिए।
निर्देशक माओत्से गुरुङ यसअघि चर्चित चलचित्र ‘दयारानी’ निर्माण गरिसकेका छन्। ‘पेन्सन पट्टा’ मार्फत उनले फेरि एकपटक समाजका वास्तविक घटनालाई पर्दामा उतार्ने प्रयास गरेका छन्। चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ्ग, विल्सन बिक्रम राई, मनोज गुरुङ, मनिका गुरुङ, माया गुरुङ, विश्वास गुरुङ र डीबी गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सार्वजनिक पोस्टरअनुसार चलचित्र भदौ २६ गते (सेप्टेम्बर ११) देखि देशभर प्रदर्शनमा आउनेछ। हर्क साउदको शब्द र मनोज थापामगरको संगीत रहेको चलचित्रको प्रामोसनल गीत जुनी जाला युट्युबमा ५ लाख भन्दा बढी पटक हेरीसकेको छ।
‘पेन्सन पट्टा’ ले केवल एउटा परिवारको कथा मात्र नभई, पेन्सन अधिकारसँग जोडिएका कानुनी प्रक्रिया, सामाजिक चुनौती र त्यसले सिर्जना गर्ने भावनात्मक संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ


















