नेपाली चलचित्र क्षेत्रमा गीत संगीत लाई फिल्म प्रमोसनको राम्रो हतियारको रुपमा प्रयोग गर्दै आइएको कुरा हामी सबैलाई थाहै छ। यसै सन्दर्भमा भाद्र १४ देखि प्रदर्शन हुने योजनाका साथ प्रचार प्रसारको काम धमाधम सुरु गरेको फिल्म ऐंचो पैँचोको गीति भिडियो काले केटाले सार्बजनिक भएको छ। कलाकारहरु स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला, रोहित क्षेत्री लगायतको अभिनय तपाईंहरुले यस फिल्ममा हेर्न पाउनु हुनेछ। एक नारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत, अस्मिता अधिकारी र आशिष अविरलको आवाज रहेको गीत काले केटाले मा पहिले निश्चल बस्नेतलाई फिचर गरिने कुरा पनि उठेको थियो तर उनको कार्य व्यस्तताको कारण त्यो सम्भब हुन सकेन र डान्सर एलेक्स बिश्वोकर्मा लाई निश्चलको ठाउँमा नचाउने निर्णय गरियो, जुन निर्णय सहि साबित पनि भएको देखिन्छ किन कि एलेक्सको उर्जाशील डान्सले गीतलाई अझ सशक्त बनाएको छ।
बिगत लामो समय देखि फिल्म निर्माण गर्दै आउनु भएकी कृषा चौलागाईको निर्देशकको रुपमा यो डेब्यु फिल्म हो। कविराज गहतराजको कोरियोग्राफी, पुर्षोत्तम प्रधानको छायाँकन रहेको यस फिल्ममा बिपिन मल्लले सम्पादन र रेनिश फागोले रङ्ग संयोजन गरेका हुन्। ग्राण्ड सेटमा निर्माण गरिएको यस गीतमा ८० लाख भन्दा बढी खर्च भएको निर्माण टोलीले बताएको छ भने भिडिओ हेर्ने क्रममा उक्त खर्च पर्दामा केही हद सम्म प्रष्ट देख्न पनि सकिन्छ। कलाकारले लगाउने भेषभुषा बाहेक अरु सबै हिसाबले गीतको दृश्य निर्माण स्तरीय देखिन्छ। ब्याग्राउन्ड डान्सर र मेन लिडमा नाच्ने कलाकारको ड्रेस उस्तै उस्तै प्रकृति को हुनुले भने वाइड सटहरुमा मुख्य भूमिकामा रहनु भएका नायक नायिकालाई देख्न मुस्किल हुन्छ। समग्रमा फिल्म ऐचो पैँचोको टिजर र गीति भिडियोले नेपाली दर्शकमाझ फिल्म बारे थप उत्सुकता भने बढाएको छ, ट्रेलर आए पछि फिल्म हेर्न थप लालायित बनाउने छ भन्ने हामीले आशा गरेका छौँ।


















