चाणक्य भन्छन, सच्चा पुरुष त्यो हो जसले परस्त्रीलाई आमाको रुपमा हेर्छ। तर, महाज्ञानी चाणक्यको यो भनाईलाई आत्मसाथ नगरी अर्काको श्रीमती माथि कु दृष्टी लगाउँदा कस्तो परिणाम भोग्नु पर्छ भनेर जान्न चाहनुहुन्छ भने आजबाट देशैभर प्रदर्शनमा आएको चलचित्र परस्त्री तपाइँको लागि हो। शिल्पा मास्के र गौरव बिष्टको बेड़ सिनको कारण पनि ट्रेलर रिलिज भएदेखि नै चर्चामा आएको यो चलचित्र थ्रिलर जानरामा बनेको हो। अन्तरंग र हिंसात्मक दृश्यहरुको कारण सेन्सर पासमा झमेला ब्येहोरेको यस चलचित्रले केहि दृश्यहरुको काँटछाँट पश्चात भने सेन्सर बोर्डबाट पी.जी सर्टिफिकेट पाएको छ। परस्त्रीको प्रिमियर सो बुधबार सिटि सेन्टरमा रहेको बिग मुभीज गरिएको थियो। हिन्दी भाषामा समेत डबिंग गरेर भारत पनि प्रदर्शन हुन लागेको यस फिल्ममा निर्देशक दिपेन्द्र के खनालको लेखन, शर्मिला पाण्डेको निर्माण अनि सुरज पाण्डेले निर्देशन रहेको छ ।

प्रिमियर शो मा अभिनेत्री स्वस्तिमा खड्का, कलाकार खगेन्द्र लामिछाने, निर्देशक दयाराम दाहाल लगायतका कलाकारहरुका साथै संचारकर्मीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो। चलचित्रका बारेमा प्रतिक्रिया दिने क्रममा आफुले पहिले कहिल्यै नसुनेको बिषयमा चलचित्र बनेको भन्दै नायक तथा लेखक खगेन्द्र लामिछाने दङ्ग देखिए। परस्त्री लगायत न्युन बजेटमा निर्माण भएका अन्य चलचित्रले पनि नेपालमा मात्र नभई भारतीय बजारमा पनि राम्रो व्यापार गर्नेछन् भन्ने कुरामा नायिका स्वस्तिमा खड्का पनि आशाबादी देखिइन । भर्खरै आफ्नो श्रीमान/निर्देशक निश्चल बस्नेतको नयाँ फिल्म “दिमाग खराब” को काम सकाएर फर्केकी स्वस्तिमाले दाई भाउजुले मात्रै नभई सबै टिमले मेहेनत गरेर फिल्म बनाएकोले सबैले माया गरिदिनु होला भनेर अनुरोध पनि गरिन।

यस फिल्ममा परस्त्रीको मुख्य भूमिकामा शिल्पा मास्केको अभिनय रहेको छ। उनले यस अघि ब्रेक अप, कागजपत्र, र Shooting an Elephant (सर्ट फिल्म) मा पनि अभिनय गरि सकेकी छिन। मिसन इम्पोसिबल, Doctor Strange जस्ता हलिउड र केहि बलिउड फिल्ममा पनि सहायक कलाकारको रुपमा उनको अभिनय रहेको थियो । उनि संगै यस फिल्ममा कोशिस छेत्री, गौरव बिष्ट, अलिशा छेत्री लगायतको पनि सशक्त अभिनय रहेको छ। हिजोआज लगभग सुनसान जस्तै रहेको सिनेमा हलमा परस्त्रीलाई हेर्न भने कतिको दर्शक आउने हुन् त्यो चाहिँ पछि नै थाहा हुनेछ । यदि फिल्म हेरी सक्नु भएको छ भने कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला।



















