Home चलचित्र १० बर्ष पछि निखिल उप्रेती फिल्म ‘आचार्य’ लिएर आउंदै

१० बर्ष पछि निखिल उप्रेती फिल्म ‘आचार्य’ लिएर आउंदै

65
0
निखिल उप्रेती

काठमाडौं। अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आचार्य’ आगामी असोज ९ गते देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गर्दै चलचित्रलाई दर्शकमाझ ल्याउने घोषणा गरेको हो।

सार्वजनिक गरिएको पोस्टरमा निखिल उप्रेती दमदार एक्सन अवतारमा प्रस्तुत भएका छन्। पोस्टरले चलचित्र युद्ध, शक्ति, रणनीति र रहस्यमय कथावस्तुमा आधारित रहेको संकेत गर्छ। निर्माण पक्षका अनुसार ‘आचार्य’ कुनै जात वा समुदायसँग सम्बन्धित पात्र नभई युद्ध र कूटनीतिमा निपुण गुरुको कथामा आधारित चलचित्र हो।

निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा निखिल उप्रेतीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरि तथा भारतीय अभिनेता दीपराज राणाको अभिनय रहेको छ। साथै कामेश्वर चौरासियालगायत अन्य कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहेको जनाइएको छ।

चलचित्रको पटकथा स्वयं निखिल उप्रेतीले तयार पारेका हुन् भने निर्देशनको जिम्मेवारी पनि उनले नै सम्हालेका छन्। यो चलचित्रमार्फत निखिल करिब एक दशकपछि निर्देशनमा फर्किएका हुन्। छायांकन नेपाल र भारतका विभिन्न स्थानमा गरिएको निर्माण पक्षले जनाएको छ।

फर्स्टलुक भिडियोमा देखाइएको सिनेमाटिक प्रस्तुति, भव्य पृष्ठभूमि संगीत तथा एक्सन दृश्यले चलचित्रलाई ‘लार्जर देन लाइफ’ शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको देखिन्छ। निखिलको पहिचान बनेको एक्सन शैलीलाई यस चलचित्रमा नयाँ ढंगले प्रस्तुत गरिएको दाबी निर्माण पक्षको छ।

नेपाली चलचित्र क्षेत्रमा एक्सन स्टारको छवि बनाएका निखिल उप्रेतीको कमब्याक परियोजनाका रूपमा हेरिएको ‘आचार्य’ ले प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकता बढाएको छ। चलचित्र आगामी असोज ९ (सेप्टेम्बर २५) देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ।