काठमाडौं ।
गुरुङ समुदायको मौलिक संस्कार, पारिवारिक सम्बन्ध र सामाजिक परम्परालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ’तेना कुर्सी’ को काठमाडौंमा विशेष प्रदर्शन हुने भएको छ। क्लाइम्याक्स आर्ट प्रोडक्सनको प्रस्तुति रहेको यस चलचित्र भदौ ६ गते शनिबार काठमाडौंको इन्फिनिटी हल, गंगाबु मा दिउँसो १२ः०० बजे र ३ः०० बजे दुई चरणमा प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ।

चलचित्र ’तेना कुर्सी’ गुरुङ समुदायमा पुस्तौंदेखि चलिआएको एक महत्वपूर्ण सामाजिक तथा सांस्कृतिक परम्परामा आधारित छ। गुरुङ समुदायमा छोरीको विवाह भएपछि उसलाई निश्चित समयमा माइती बोलाएर सम्मान गर्ने, ढोग–भेट गर्ने तथा परिवारसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने चलन रहेको छ। यही परम्परालाई गुरुङ भाषामा ’तेना कुर्सी’ भनिन्छ।
तर, यदि गुरुङ समुदायकी चेलीले गैर–गुरुङ वा गैर–कुटुम्बमा विवाह गरेमा कतिपय स्थानमा उनलाई ’तेना कुर्सी’ नगर्ने प्रचलन रहेको पाइन्छ। त्यस्तो अवस्थामा ती चेलीले आफ्ना बाबुआमाको मृत्यु हुँदा समेत अन्तिम संस्कारका केही धार्मिक तथा सांस्कृतिक कर्ममा सहभागी हुन नपाउने वा शव छुन नपाउने जसलाई ’क्राशा गर्ने’ भनिन्छ। यस्ता किसिमका सामाजिक बन्देज लगाइने परम्परा पनि केही क्षेत्रमा कायमै रहेको पाइन्छ।

यिनै सामाजिक मान्यता, संस्कार र त्यसबाट उत्पन्न हुने भावनात्मक तथा पारिवारिक द्वन्द्वलाई चलचित्र ’तेना कुर्सी’ ले कथावस्तु बनाएको छ। चलचित्रले परम्पराको संरक्षण र आधुनिक समाजमा त्यसबारे उठिरहेका प्रश्नबीच सन्तुलित बहस गर्ने प्रयास गरेको निर्माण पक्षको भनाइ छ। निर्देशक तथा लेखक गणेश गुरुङ (सुबास) ले चलचित्रले कुनै परम्पराको पक्ष वा विपक्षमा उभिनुभन्दा पनि समाजमा विद्यमान अभ्यासलाई यथार्थ रूपमा प्रस्तुत गर्दै दर्शकलाई सोच्न बाध्य बनाउने उद्देश्य राखेको बताएका छन्।
यसअघि चलचित्रको पोखरा र हङकङ मा सफल भइसकेको छ। ती प्रदर्शनमा गुरुङ समुदायका साथै नेपाली दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण पक्षले जनाएको छ। अब काठमाडौं प्रदर्शनमार्फत राजधानीका दर्शकमाझ पनि चलचित्र पुर्याउने तयारी गरिएको हो।

चलचित्रमा पर्बत गुरुङ, खुशी गुरुङ, टिकाराम घले, बबिता गुरुङ, राजेश गुरुङ, ओम गुरुङ, भीम बुढा गुरुङ, पूजा गुरुङ, अलिशा गुरुङ, रिना गुरुङ, मन्जु गुरुङ, भीम गुरुङ, चन्द्र गुरुङ, कुमार गुरुङ, जय लक्ष्मी गुरुङ र ग्यानु गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको छायांकन विशाल प्रजापति र प्रकाश गुरुङ काश ले गरेका हुन् भने सम्पादन राजेन्द्र खड्का ले गरेका छन्। पृष्ठभूमि संगीत अशोक राई को रहेको छ। संगीत आँशु लामा र गणेश गुरुङ (सुबास) ले दिएका छन् भने स्वरमा गणेश गुरुङ (सुबास), मेलिना राई र उषा गुरुङ रहेका छन्। निर्माता भीम गुरुङ, चन्द्र गुरुङ, कुमार गुरुङ, जय लक्ष्मी गुरुङ र ग्यानु गुरुङ हुन्।
परम्परा, संस्कृति, पहिचान र पारिवारिक सम्बन्धको संवेदनशील पक्षलाई उठान गरेको ’तेना कुर्सी’ ले गुरुङ समुदायभित्र मात्र होइन, नेपाली समाजमा पनि परम्परा र परिवर्तनबीचको सम्बन्धबारे नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।


















