Home साहित्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइयो

966
0

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ।काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो।

संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ। महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको होला भन्ने विश्वास रहेको प्रतिक्रिया दिइन्। ‘एकेडेमीमा सबै बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ । सबै पढेलेखेको बुद्धिजिवी व्यक्तिहरु बस्नुहुन्छ । उहाँहरुको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरु जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ’. उनले भनिन्।

महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो । देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ । १२ आना क्षेत्रफलमा ११ करोड ३३ लाख रुपैयाँको लागतमा सरकारले चारतल्ले संग्रहालय बनाउने भएको छ। सङ्ग्रहालय परिसरको अग्रभागमा देवकोटाको पूर्ण कदको सालिक रहने छ। कवि गोष्ठी गर्न र नाटक मञ्चन गर्ने मिल्ने गरी एउटा डबलीसमेत निर्माण गरिने जनाइएको छ।

प्रतीक्षालय र श्रव्यदृश्य कक्षसमेत निर्माण गरिने सो परिसरमा सुन्दर बगैँचासमेत बन्ने छ। सङ्ग्रहालय भवनको पहिलो तल्लामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध सामग्री, दोस्रो तल्लामा देवकोटाका प्रकाशित, अप्रकाशित र पाण्डुलिपि सङ्ग्रह गरिने भएको छ। भवनको तेस्रो तल्लामा परामर्श कक्ष र सभाकक्ष निर्माण गरिने छ।