५० को दशकतिर काठमाडौँमा गुरुङ युवा–युवतीहरूको एउटा सक्रिय समूह “रोधी परिवार” को स्थापना भएको थियो । गुरुङ भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने उदेश्यले स्थापना भएको यस समूहले देउसी-भैलो जस्ता सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गर्दथ्यो।उमा गुरुङको नेतृत्वमा संचालन भैरहेको यस रोधी परिवारले गुरुङ भाषाको पहिलो चलचित्र “पाते” निर्माण गर्ने घोषणा गर्यो।

उनको सिर्जनात्मक यात्राले निरन्तरता पाए संगै २०५८ सालमा चलचित्र विकास बोर्डमा दर्ता भएको पहिलो गुरुङ फिल्म ‘डोल्स्यो (Soltini)‘ निर्माण गरे। यस फिल्ममा उनी नायक, लेखक, निर्देशक र निर्माता सबै भूमिकामा रहे। चलचित्र ङ्गोल्स्योले सिक्किममा छायांकन भएर, नेपाल बाहिर हङकङमा प्रदर्शन हुने पहिलो गुरुङ फिल्म बनेर इतिहास रच्यो।
उनले गुरुङ र मगर भाषाका फिल्महरूमा विशेष जोड दिएका थिए। ‘काशी (कान्छी)’, ‘म्ही थेबा (ठूलो मान्छे)’, ‘नानु’, ‘आजि (आमाको बहिनी)’, ‘रोदीघर’, ‘आशीमाला (शुभकामना)’, ‘छ्याबरानी (राम्री केटी)’ जस्ता गुरुङ फिल्महरू र ‘यानिमाया’, ‘डौ कर्म (मेरो कर्म)’, ‘लाफ़ा (साथी)’, जस्ता मगर फिल्महरू मार्फत उनले यी समुदायको कथा, संस्कृति र जनजीवनलाई पर्दामा उतारेका छन्।
नेपाली फिल्म ‘जीवनलिला’ जस्ता केही फिल्म हलमा पनि प्रदर्शन भएका छन्, जसले उनको बहुमुखी प्रतिभालाई झल्काउँछ। प्रीतम गुरुङले आजसम्म ५० औँ चलचित्रहरूमा लेखक, निर्देशक, निर्माता, र अभिनेता रूपमा काम गरिसकेका छन्। उनले बनाएका चलचित्रहरू ढाका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, सार्क फिल्म फेस्टिभल, र काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (KIMFF), नेपाल आदिबाशी चलचित्र महोत्सव जस्ता राष्ट्रिय तथा अन्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा समेत प्रदर्शन भइसकेका छन्।
प्रितम गुरुङले आफ्नो पेसागत जीवनमा जसरी सफलता प्राप्त गरेका छन् त्यसै गरि व्यक्तिगत जीवनमा धेरै उत्तारचडाबहरु पनि भोग्न परेको थियो। पर्दामा हाँसो छर्दै, आँखामा सपना भर्दै, तर भित्रभित्रै मनको अँध्यारो कुनामा गरुङ्गो पीडा बोकी हिँड्थे, कुनै समय उनको जीवनमा गहिरो अन्धकार पनि आयो। एक समयमा उनी गहिरो डिप्रेशनमा परे, जीवनप्रति मोह हराउँदै गएका उनले स्वनाश गर्नेसम्मको प्रयास पनि गरे। त्यो अन्धकारबाट उनी बाहिर निस्किन सक्ने छैनन् जस्तो लाग्थ्यो।
तर उनलाई जोगायो परिवार, इस्टमित्रको साथ, फिल्मप्रतिको अथाह प्रेम, र समाजप्रतिको जिम्मेवारीबोधले । त्यो एक भयानक क्षणबाट बाँच्न सफल भएपछि उनले फेरि एकपटक आफुलाई फिल्म बनाउने यात्रामा समर्पित गरे र निर्माण गरे आफ्नो ४९औँ चलचित्र “रिपा”. आफ्नै वास्तविक जीवनमा भोगेका, घटनाहरुलाई पटकथामा कलात्मक ढङ्गले प्रस्तुत गरिएको फिल्म रिपा ले स्वोदेश तथा विदेशबाट दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको थियो।
उनले भनेका थिए।
“म मरेको भए, मेरा कथाहरू मसँगै अन्त्य हुने थिए। तर म बाँचें — र ती कथाहरू आज पनि पर्दामा बोलिरहेका छन्।”
प्रीतम गुरुङले सुरुवाती दिनहरुमा फिल्म सम्बन्धि कुनै औपचारिक तालिम तथा शिक्षा नलिईकन, आफ्नै अनुभवबाट सिक्दै दर्जनौं चलचित्रहरू निर्देशन गरे। पछि नबीन सुब्बा, छिरिंग रितार सेर्पा, राजेश गंजबू, अनूप बराल, अनुप सुबेदी, मार्कोस जस्ता अनुभवी चलचित्रकर्मीहरु सँग फिल्ममेकिंग सम्बन्धि तालिम पनि लिएका छन्। उनका चलचित्रहरू प्राय: आदिवासी र महिला आवाजमाथि केन्द्रित हुने गर्छन ।
उनको तीन दशकभन्दा लामो चलचित्र यात्रा उतारचढावले भरिए पनि उनले थुप्रै महत्त्वपूर्ण सफलताहरू पनि हासिल गरेका छन्। यस क्रममा उनले विभिन्न सम्मान तथा पुरस्कारहरू प्राप्त गरेका छन्, जसमध्ये २०७३ सालमा जिफान/जक्सन डट कमबाट प्राप्त लाइफटाइम अचिभमेन्ट अवार्डले चलचित्र क्षेत्रमा उनको दीर्घकालीन योगदानलाई सम्मान गरेको थियो। त्यसैगरी, २०७६ सालमा उनको चलचित्र ‘रीजे नास’ ले उत्कृष्ट आदिवासी जनजाति चलचित्र अवार्ड जितेर जातीय चलचित्र निर्माणमा उनको उत्कृष्टतालाई प्रमाणित गर्यो। हालै, २०८० सालमा गुरुङ चलचित्रकर्मीको रूपमा उनले राष्ट्रपति सम्मान प्राप्त गरेका थिए , जसले गुरुङ चलचित्रको विकासमा उनको अतुलनीय योगदानलाई राज्यस्तरबाटै कदर गरेको देखिन्छ। यी सम्मानहरूले प्रितम गुरुङलाई नेपाली चलचित्र, र विशेषगरी आदिवासी जनजाति चलचित्रको क्षेत्रमा एक अग्रज र सफल चलचित्रकर्मीको रूपमा स्थापित गरेका छन्।
प्रीतम गुरुङ आज पनि निरन्तर चलचित्र निर्माणमा सक्रिय छन्। उनको ५० औँ चलचित्र “मुख्या” प्रदर्शनको तयारीमा छ। न्युनतम लगानीमा निर्माण भएका गुरुङ चलचित्र पनि विदेशी बजारमा लगातार प्रदर्शन हुनु, गुरुङ समुदाय, स्वतन्त्र चलचित्रकर्मीहरुको लागि गर्वको कुरा हो। प्रीतम गुरुङका दुइ चलचित्रहरु “नुमा” र “रिपा” को प्रदर्शन पश्चात अब तेस्रो फिल्म “मुख्या” युके मा प्रदर्शन हुँदै छ। उनको यो निरन्तरताले धेरै नयाँ कलाकार र फिल्मकर्मीहरूलाई प्रेरणा प्रदान गरिरहेको छ।
यसका साथै, उनले डिजिटल माध्यमको प्रयोग गरेर गुरुङ समुदायको भाषा र संस्कृतिको संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्। उनी ‘Podcast with Pritam Gurung’ मार्फत चलचित्र, भाषा, पहिचान र समाजका विविध विषयमा गहन विश्लेषण प्रस्तुत गर्छन्। साथै, ‘Gurung Ma Tapai’ नामक अन्तर्वार्ता कार्यक्रममार्फत उनले असाधारण कार्य गर्ने गुरुङ व्यक्तिहरूलाई आमन्त्रित गरी उनीहरूका सामाजिक कथा र आवाजहरूलाई समेट्ने काम गरिरहेका छन्। उनका यी पहलहरूले गुरुङ समुदायको संस्कृतिलाई नयाँ पुस्तामाझ पुर्याउन र यसको जगेर्ना गर्न मद्दत पुगेको छ।
“चलचित्र नै आफ्नो जीवन ठान्ने ” प्रीतम गुरुङले चलचित्रलाई भाषा, संस्कृति र पहिचानको संरक्षणको माध्यम बनाएका छन्। प्रीतम गुरुङ कुनै एउटा फिल्म निर्माता मात्र होइनन्। उनी एक संस्कृतिकर्मी, सामाजिक कार्यकर्ता, जीवनमा पुनर्जन्म पाएका व्यक्ति, र नेपाली आदिवासी सिनेमा आन्दोलनका आधार हुन्। उनलाई गुरुङ चलचित्र क्षेत्रको बिकाश, समरकक्षन र प्रवर्धनमा अग्रपंक्तिका स्रष्टा मान्न सकिन्छ — जसको योगदान सदैव स्मरणीय रहनेछ। उनी अझै फिल्म बनाइरहेका छन् — किनभने उनका कथाहरु सकिएका छैनन्।