Home चलचित्र हितमान गुरुङको चलचित्र “जिउँदो लास” हेर्न दर्शकको घुँइचो

हितमान गुरुङको चलचित्र “जिउँदो लास” हेर्न दर्शकको घुँइचो

0

नेपालमा चलचित्र निर्माण गर्न जति कठिन छ, त्यो भन्दा बढी समस्या प्रदर्शनमा हुने गर्दछ। अझ केहि व्यक्तिको सिमित लगानीमा निर्माण भएका र निश्चित समुदाय र संस्कृतिलाई लक्षित गरेर बनेका आदिवासि चलचित्रहरुको बजार निकै सानो छ। यहि सानो बजारमा पनि बिबिध कारणले गर्दा प्रदर्शन हुन नसकी हार्ड डिक्समा थन्काएर राख्नु परेको नमिठो अनुभब धेरै आदिवासी निर्माता, कलाकार तथा निर्देशकहरु संग छ। चलचित्रलाइ दर्शक सम्म लैजानको लागि आफ्नै व्यक्तिगत पहलमा आफु अनुकुलका समाज र संघसंस्थाहरु सँग सहकार्य गरि फिल्म रिलिज गर्नु पर्ने बाध्यता चलचित्रकर्मीहरुको रहेको छ। त्यसैले दुखले निर्माण गरेको फिल्म हेर्न सिनेमा हलमा दर्शकहरुको ठुलो जमातको उपस्थिति गराउन चलचित्रकर्मीको पहुँच र चिनजान अति महत्वपूर्ण हुने गर्दछ।

यहि माहोलका बीच , निर्माण पश्चात काठमाडौँमा भी.आइ. पी शो पनि गरिसकेको गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र जिउँदो लास को भने तनहुँ खैरेनीटारमा एकै दिन लगातार दुई शो गरिएको छ। खैरेनीटार तमु समाज, तनहुँको आयोजनामा प्रदर्शन गरिएको यस चलचित्र हेर्न लांघाली मगर समाजको भवनमा दर्शकहरुको निकै भिड लागेको थियो। विभिन्न समाजका अध्यक्ष, जनप्रतिनिधी, भद्रभलादमी तथा अग्रज व्यक्तित्वहरुले बिशिस्ट अथितिको रुपमा चलचित्र हेर्न आफ्नो उपस्थिति जनाएका थिए। गायक पृथ्वी गुरुङले औपचारिक कार्यक्रम संचालन गर्दै गर्दा, चलचित्र जिउँदो लासका नायक तथा निर्माता दुर्गा गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा चलचित्रका कलाकारहरु कृष्ण गुरुङ (कालु), हितमान गुरुङ, दुर्गा गुरुङ, रेशम गुरुङ, पर्सन गुरुङ सँगै ड्यासमा आसिन प्रमुख अतिथि, बिशिस्ट अतिथिहरुलाई आयोजकको तर्फबाट खादा र फेटा लगाएर स्वागत सम्मान पनि गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि हिरालाल गुरुङले आफ्नो भाषा, संस्कृति संरक्षण र प्रवर्धनमा यस किसिमका चलचित्रहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। त्यसैगरि सभाका सभापति खैरेनीटार तमु समाजका अध्यक्ष धन प्रसाद गुरुङले चलचित्रको निर्माण पक्षबाट सम्पूर्ण सहयोगी व्यक्ति तथा समाजलाई मायाको चिनो प्रदान गरि औपचारिक कार्यक्रमको अन्त्य सँगै चलचित्रको विधिवत रुपमा प्रदर्शन गरिएको थियो। गर्मीको समयमा पनि बन्द समाजघर भित्र थुनिएर २ घण्टा लामो चलचित्र जिउँदो लास हेरी सकेपछि अधिकांश दर्शकले आफुले भरपुर मनोरंजन प्राप्त गरेको र यस्ता किसिमका गुरुङ संस्कृतिमा आधारित चलचित्रहरु अझै धेरै निर्माण हुनुपर्ने प्रतिक्रिया उहाँहरुले दिनुभयो। तर केहि दर्शकहरुले भने चलचित्रमा गुरुङ संस्कार संस्कृति संगै भाषालाई पनि समावेश गरेको भए अझै उत्तम हुने सुझाब पनि दिएका थिए ।

फिल्म शो अन्त्य सँगै अभिनेता हितमान गुरुङले कला बजार नेपाल सँग कुराकानी गर्दै, दर्शकको माया र सम्मानले अझ धेरै उर्जा मिलेको र निकट भबिस्यमा अझ यो भन्दा राम्रो गुरुङ चलचित्र निर्माण गर्ने बताउनु भयो। आफ्नो परिवार सँगै बसेर दोस्रो सोमा चलचित्र हेरेका गुरुङ, परिवार र साथिभाइको प्रतिक्रिया सुनेपछि खुसी देखिन्थे। चलचित्र जिउँदो लास पर्सन गुरुङको कथा, भेष गुरुङको छायाँकन र जनक गुरुङको पटकथा/निर्देशनमा निर्माण भएको हो। आगामी दिनहरुमा नेपाल सँगै विदेशका विभिन्न सहरहरुमा पनि चलचित्र प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ।

Exit mobile version